
काठमाडौं— दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको भनिएको बिक्री रोक्न माग गर्दै रिट दायर गरेका हुन् । आगामी आइतबार रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।
आजियाटाले रेनोल्ड होल्डिङ्स नामक कम्पनीको सबै शेयर बेलायतमा स्थापना भएको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । शेयर खरिदबिक्रीको निर्णय सार्वजनिक भएलगत्तै विभिन्न तहबाट प्रश्न उठेको छ ।
पूँजीगत लाभकर छल्ने उद्देश्यले वास्तविक भन्दा कम मूल्यमा शेयर बिक्री गर्न खोजिएको सांसद सिंहले दाबी गरेका छन् । आजिएटाले टेलिकम क्षेत्रका व्यवसायी सतिशलाल आचार्यलाई ५० मिलियन अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) मा शेयर बिक्रीको घोषणा गरेको थियो ।













