मुगु— सरकार र वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लाका विद्यालयका शिक्षक र विद्यार्थी अझै पनि शौच गर्न झाडीतिर जान्छन् भन्दा अचम्म लाग्नसक्छ ।
२०७६ असोज १३ गते खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै खुला दिसामुक्त देश भनेर तामझामका साथ घोषणा गरिएको थियो भने मुगु जिल्लालाई पनि २०७५ जेठ २८ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । अझै पनि गाउँघर र विद्यालयतिर कसैलाई दिसापिसाब लागे पाखा, झाडी तथा जङ्गलतिर जानुपर्ने अवस्थामा देशलाई नै खुला दिसामुक्त घोषणा कसरी गरियो भन्ने प्रश्न अनुत्तरित छ ।
सरकार, दातृनिकाय र स्थानीय सरकारको कार्यालय रहेको जिल्ला सदरमुकाम गमगढीको शिर र पुच्छारमै अवस्थित दुईवटा विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनि दिसापिसाब गर्न झाडीतिर जाने गरेका छन् । छायानाथ रारा नगरपालिका वडा न ५ माथि तुममा रहेको आदर्श आधारभूत विद्यालय र सोही पालिकाको वडा नं १३ रूगा गाउँमा रहेको मालिका आधारभूत विद्यालयमा शौचालय नहुँदा अझै पनि शौच गर्न झाडीतिर जानुपरेको हो ।
‘सरसफाइ तथा स्वच्छताका लागि विद्यालयहरूमा लाखौँको शौचालय बनाउने गैरसरकारी संस्था भए पनि छन् ती संस्थाको लगानीबारे प्रश्न उठ्न थालेको छ‚’ नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षक भन्छन्, ‘मुगुमा विद्यालय भवन बढीमा ३०/४० लाख रुपैयाँका बन्छन् तर ती विद्यालयमा शौचालय भने ६०/६५ लाख रुपैयाँका बनाउने गैरसरकारी संस्था स्थानीय सामान बाहेक बाँकी सबै आफैँ ल्याउँछन्। ती सामानका मूल्यको बिल विद्यालयले देख्नै पाउँदैनन्।’
स्थानीय सरकार र गैरसरकारी संस्था सबैको ध्यान कमिसनमै हुने गरेको उनी बताउँछन्। ‘जुन विद्यालयमा कमिसन आउँछ वा पावरवाला व्यक्ति हुन्छ उतै भौतिक संरचना बनाइन्छन्‚’ उनले भने‚ ‘निरीह र पहुँच नपुग्ने विद्यालयका शिक्षक, विद्यार्थी चुहिने भवनमै बसेर पढन/पढाउन र दिसापिसाब लागे झाडी चहार्न बाध्य हुन्छन्।’ यसो हुनु यहाँ सामान्य भएको उनको भनाइ छ।
नव आदर्श आधारभूत विद्यालयका शिक्षक विनोदकुमार मल्ल भन्छन्, ‘विद्यालयमा शौचालय र पानीको लागि सहयोग माग्न नपुगेको कुनै संस्था, सरकारी निकाय बाँकी छैनन्। शौच गर्न बालबालिका झाडीतिर जाँदा लडेर हातखुट्टा भाँच्चिएका, चिप्लिएर चोटपटक लागेका कैयौँ घटना छन्। हामी शिक्षक पनि शौच गर्न तुम गाउँका स्थानीयवासीका शौचालय जान्छौँ।’
उनका अनुसार गत वर्ष नगरपालिकाले स्कुल भवन बनाइदियो। ‘गत वर्ष छायानाथ रारा नगरपालिकाले दुईकोठे विद्यालय भवन बनाइदियो। यो वर्ष खानेपानी र शौचालय बनाइदिन्छौँ भनेर नगरप्रमुखले भन्नुभएको छ हेरौँ।’
मालिका आधारभूत विद्यालयमा पनि एउटा शौचालय थियो तर २०७९ असोजमा परेको पानीले पहिरो आउँदा शौचालय लग्यो।
त्यसयता धेरै निकायमा शौचालय बनाइदिन आग्रह गरे पनि कतै सुनुवाइ भएन। दिसापिसाब लाग्दा झाडी, जङ्गल र गाउँलेका निजी शौचालय जानुबाहेक अर्को विकल्प नभएको प्रधानाध्यापक चन्द्रबहादुर शाही सुनाउँछन्।
सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत अक्कल लावड भन्छन्, ‘दिसापिसाब लागे घर वा झाडीतिर जान्छौँ।’ झाडीतिर जाँदा डर लाग्ने गरेको र एकचोटी दिशा गर्न झाडीमा जाँदा चिप्लिएर टाउकोमा चोट लागेको उनले बताए।
यसैगरी कक्षा ४ मा अध्ययनरत छात्र राजन रावत भन्छन्, ‘दिसापिसाब गर्न बाहिर जाँदा पढाइ छुट्छ। सर्प र कीराले टोक्लान् भनेर डर लाग्छ।’ उनले पनि दिसापिसाब गर्दा कयौँपल्ट आफूलाई चोट लागेको सुनाउँछन्।
रूगाको विद्यालयमा १८५ विद्यार्थी अध्ययनरत छन्। खुला ठाउँमा शौच गर्दा वातावरण प्रदूषित हुनाका साथै सरुवा रोग फैलने सम्भावना हुन्छ। समुदायलाई सकारात्मक शिक्षा दिनुपर्ने विद्यालयकै शिक्षकले खुला ठाउँमा शौच गर्नुपर्दा लज्जित हुनुपरेको शिक्षकहरू बताउँछन्।
नगरपालिका मातहतका ४५ विद्यालयमध्ये केही विद्यालयमा नयाँ भवन बनाइएका भए पनि शौचालयको अभावमा वर्षाका बेला शौचका लागि बाहिर जानुपर्ने अवस्था र भएका शौचालय पनि जीर्ण भएकाले चालु आर्थिक वर्षमै त्यस्ता विद्यालयमा छात्रछात्रा मैत्री शौचालय बनाउने योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए।