News Griha :: न्यूजगृह
ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाइलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताएका छन् ।

तारकेश्वरमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा उनले भ्रष्टाचार विरोधी र सुशासन प्रवर्द्धनको अभियान यो सरकार नरोकिएको बताएका हुन् ।

'सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन,' प्रधानमन्त्री दाहालले भने, 'भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाइलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।' 

उनले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । 'नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्‍याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन,' प्रधानमन्त्री दाहालले भने, 'पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।'

मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उनले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिए । 

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तरक्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको प्रधानमन्त्री दाहालले बताए । पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको सुरुआत गरेको उनको भनाइ थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:५५
Weather Update