
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके मध्येका ३ जनालाई नख्खु कारागारमा सरुवा गरिएको छ ।
सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई कारागार कार्यालय नख्खुमा सरुवा गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए । भण्डारी र दुलाललाई केही समयअघि नै सरुवा गरिएको थियो । उच्च अदालतले पुर्पक्षमा नै राख्न आदेश गरेपछि शर्मालाई पनि नख्खु चलान गरिएको हो ।
असार १ मा जिल्ला अदालत काठमाडौंले १६ जनालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो । जिल्ला अदालतले धरौटी लिन आदेश गरेका टङ्क गुरुङ, लक्ष्मी महर्जन, आशिष बुढाथोकी र केशव तुलाधरलाई उच्चले साधारण तारेखमा छाड्न भनेको हो ।
त्यस्तै उच्च अदालतको आदेशपछि धरौटी तिरेर शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी रिहा भएका छन् ।
सन्दीप पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन् । उनी केन्द्रीय कारागारमै छन् ।













