
काठमाडौं— सर्वोच्च अदालतले धनुषाकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।
गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले असार १ मा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि असार ५ मा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तर उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।
यस्तो छ घटना
धनुषाको नगराइन नगरपालिका-८ की आरती विनोदप्रसाद साह र निर्मलादेवीकी जेठी छोरी थिइन् । उनीहरूले दुई छोरी र एक छोरालाई जन्म दिएका थिए । आरतीको दुई वर्षअघि विवाह भएको थियो । गत जेठ ७ गते साँझ साढे ६ बजे विनोदप्रसाद लाई आरतीका ससुरा मदनमोहन साहले फोन गरेका थिए । आरतीको स्वास्थ्य अवस्था खराब भएकाले जनकपुरको काव्या अस्पतालमा बोलाइएको थियो । तर अस्पताल पुर्याउँदा आरतीलाई मृत घोषणा गरिएको थियो ।
शरीरमा निलडाम र खुट्टाहरू सुन्निएको भन्दै मृतकका परिवारले हत्या भएको आशंका गरेका थिए । प्रहरीलाई जेठ ८ गते उजुरी बुझाएपछि मात्र पोस्टमार्टम गरी आरतीको शव जलाउन अनुमति दिएका थिए ।
जेठ ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा आरतीका श्रीमान मोतीबाबु, सासू रेणुदेवी, ससुरा मदनमोहन र देवर रविविरुद्ध आरतीका बुबाले उजुरी दिन खोजेका थिए । तर प्रहरीले उजुरी लिन नमानेपछि ससुरा र श्रीमानविरुद्ध मात्रै उजुरी दिइएको थियो । पीडित परिवारले उनीहरूविरुद्ध आत्महत्या दुरूत्साहनसँगै कर्तव्य ज्यानमा उजुरी दिएका थिए ।
जिल्ला अदालत धनुषाले श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो। त्यसविरुद्ध उनीहरू उच्च अदालत पुगेका थिए ।
उच्च अदालत जनकपुरले भने उनीहरूलाई असोज १८ गते साधारण तारेखमा छाडेको थियो ।
मुख्यन्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजलासले आरतीका माइतीपक्षले दिएको जाहेरीमा प्रमाण नपुगेको भन्दै उनीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।
आरती साहका बुवा विनोदप्रसाद, आमा निर्मलादेवी र भाइ तथा बहिनी माइतीघरमा लामो समयदेखि धर्नामा छन् ।













