कवाडी गोदाममा आगलागी, २ कामदारको मृत्यु

काठमाडौं— विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार दिउँसो २:१५ बजेतिर कवाडी गोदाममा आगलागी सुरु भएको थियो । आगलागीमा परेर घाइते भएका एक जनाको उपचारका क्रममा विराटनगर न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन । त्यस्तै विराटनगर ६ का दीपक मण्डलको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् । आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १७:०८













