News Griha :: न्यूजगृह
शिक्षकले विद्यार्थीलाई निर्घात कुटे, आक्रोशित स्थानीयले विद्यालयमा ताला लगाए  

पश्चिम नवलपरासी— पश्चिम नवलपरासीको सरावलमा एक निजी विद्यालयका शिक्षकले एक बालिकालाई निर्घात कुटपिट गरेका छन् । सरावल गाउँपालिका—७ स्थित  बर्दघाट कालिका इंग्लिस स्कुलमा अध्ययनरत एक बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले  कुटपिट गरेका हुन् । 

कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई यादवले लठ्ठीले पिटेर घाइते बनाएका हुन् । बालिकाको शरीरभर निलडाम बसेको छ । 

घटनापछि आक्रोशित स्थानीयले विद्यालयमा तालाबन्दी गरेको वडा नम्बर ७ का वडा अध्यक्ष हायात खाँ धुनियाँले बताए । शिक्षक यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको भन्दै विद्यालयबाट तुरुन्त बर्खास्त गर्नुपर्ने र कानुनी कारबाही गर्न स्थानीय अभिभावकले माग गरेका छन् ।

राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि निर्घात हुने गरी शिक्षकले पिटेको बालिकाकी आमा गन्जलाले बताइन् । 

जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजिकुमार आचार्यले कुटपिट गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए । कुटपिट गर्ने शिक्षक फरार छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १२:४५
Weather Update