रास्वपा उपाध्यक्ष अर्यालले बोलाए सचिवालय बैठक, थपिएका केन्द्रीय सदस्यको शपथ पनि आजै

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार सचिवालयको बैठक बोलाएको छ ।
महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई दिउँसो साढे तीन बजे शपथ गराउने र साँझ पाँच बजे सचिवालयको बैठक बोलाइएको पार्टी उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए ।
सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतीमा बस्ने पनि उनले बताए । रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ ।
सहप्रवक्ता बाहेक सबै पदाधिकारी सचिवालयमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै प्रदेशमा प्रशिक्षण, अन्तरक्रिया गर्ने तयारी गरेको छ । त्यसमा पदाधिकारी तथा केन्द्रीय सदस्य परिचालनलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक डाकिएको रास्वपाले बताएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १०:२२