News Griha :: न्यूजगृह
मिचाउङ सामुद्रिक आँधीको प्रभाव नेपालमा, वर्षाको सम्भावना छ?

काठमाडौं— हाल नेपालमा पश्चिमी वायुको साथै आन्ध्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका साथै  देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली  रहनेछ । कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस ,बागमती  र गण्डकी  प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेशका र मधेस प्रदेशको एकदुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०७:०७
Weather Update