
काठमाडौं— दक्षिण कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुंग ह्वांग–केउनले एक वर्षअघि नेपालको सिन्धुली पठाएको उन्नत जातका गाईहरूको प्रगति सुनेर आफू प्रसन्न भएको प्रतिक्रिया दिएका छन् ।
हवाई जहाज चढाएर काठमाडौंसम्म ती गाई पठाउँदाको रोचक अनुभव सम्झँदै मन्त्री केउनले आफ्नो देश दक्षिण कोरिया नेपाली किसानलाई सहयोग गर्न पाउँदा निकै खुशी भएको उल्लेख गरेका छन् । मन्त्री चुंग ह्वांग–केउनले कोरियन टाइम्सको अनलाइन संस्करणमा यसरी सम्झेका छन् त्यो दिन–
सन् २०२२ को डिसेम्बरमा कठ्याङरिदो चिसो थियो । चिसो मौसममा हामीले १०१ कोरियाली उन्नत जातका गाई नेपाल पठाउनका लागि विमानमा चढायौं । हामी यसरी विदेशमा पहिलो पटक गाईबस्तु पठाउँदै थियौँ । त्यसैले पनि यसको तयारी सजिलो भने थिएन । यो परियोजनाको सफलता सुनिश्चित गर्न यहाँका सार्वजनिक र निजी क्षेत्रले कडा परिश्रम गरे । हामीले गाईहरूलाई सुरक्षित रूपमा बोक्नका लागि काठको पिँजराहरू बनाएका थियौं । जुन तिनीहरूको नश्ल र स्वास्थ्य अवस्थाको आधारमा देशभरका फार्महरूबाट चयन गरिएका थिए ।
साथै, एशियाना एयरलाइन्सको सहयोगमा हामीले यात्रुवाहक विमानलाई कार्गोमा परिणत गर्यौँ, जहाँ तापक्रम र आर्द्रताको स्तर नियन्त्रण गर्न सकिन्छ । यी सबै प्रयासका बावजुद, १० महिनाभन्दा कम उमेरका गाईहरू सकुशल नेपाल नपुगुन्जेलसम्म उनीहरूलाई निरन्तर पिन र सुई दिइरहेका थियौं ।
पछि नेपालबाट खबर आयो, ‘आठ घण्टाको उडान र मालवाहक ट्रकमा १० घण्टाको लामो यात्रापछि अन्ततः सबै गाईहरू नेपालको सिन्धुली जिल्लाको एउटा गाउँमा आइपुगेका छन् र सबैको स्वास्थ्य अवस्था ठीक छ ।’ अनि तिनीहरूको सुरक्षाको लागि हामीले गरेका सबै प्रार्थनाहरू चामत्कारिक रुपमा सत्य सावित भयो ।
आधा शताब्दी पहिले, कोरिया डेरी व्यवसायमा अविकसित देशहरू मध्ये एक थियो जहाँ गाईले दैनिक औसत १० लिटरभन्दा कम दूध उत्पादन गर्दथे । आजको मितिसम्म आइपुग्दा दैनिक औसत ३२ लिटर दूध उत्पादन गर्दै कोरिया एसियामा सबैभन्दा राम्रो उत्पादनकर्ता भएको छ भने विश्वमा छैटौँ स्थानमा छ । यो उल्लेखनीय विकास कोरियालाई प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समुदायको सहयोगबाट नै सम्भव भएको हो । कोरियाली युद्धपछि यहाँ दुग्ध खेतीको सम्भावना नरहेको भूमि जस्तै बनेको थियो । हामीले सन् १९५२ देखि १९७६ सम्म एक विश्वव्यापी गैरनाफामुखी संस्था हेफर इन्टरनेशनलबाट ९०० वटा गाई र प्राविधिक तालिम पायौँ । पछि हामीले गाईको नश्ल विकास गर्न राष्ट्रव्यापी प्रयास जारी राख्यौं । यो अटल प्रयास नै आज उन्नत दुग्ध उद्योगमा परिणत भएको छ ।
नेपाललाई दिइएका उन्नत गाई हामीले विगतमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गरेको सहयोगले पनि हेफर इन्टरनेशनलले बनाएको सहयोगी परियोजना हो । परियोजनालाई सम्भव बनाउन धेरै कोरियालीहरूले स्वेच्छिक रूपमा क्राउड फन्डिङमा सहभागि भएका थिए । दुग्ध किसानहरूले आफूले पाल्दै आएका गाईहरू नै दान गरे । अन्तर्राष्ट्रिय समुदायले दिएको गाईबाट दुग्ध व्यवसाय सुरु गरेका पशुपालक कृषकहरू दूध दिने गाई दानमा सामेल भएकाले यस परियोजनाको थप महत्व बढेको छ ।
अब, कोरियाली सरकारले नेपाली दुग्ध उद्योगले कोरियाले चालेको बाटो पछ्याउन सकोस् भन्नका लागि चन्दा बाहेक विभिन्न माध्यमबाट सहयोग गरिरहेको छ । यस वर्षको मार्चमा, हामीले कृत्रिम गर्भाधानका लागि थप उच्च गुणस्तरको प्रजनन गराउन साँढे र डेयरी बुलको वीर्य उपलब्ध गरायौँ । मे र अक्टोबरमा, हामीले कृत्रिम गर्भाधान, प्रजनन र रोग व्यवस्थापनको क्षेत्रका विज्ञहरू पनि नेपाल पठायौँ, जसले स्थानीय किसानहरूको आवश्यकता अनुरूप शिक्षा र तालिम प्रदान गरेको महसुस गरेका छौं ।
भर्खरै, हामीले सिन्धुली पुगेका ३१ गाई गर्भवती भएको खुशीको खबर सुन्यौं । सोही अनुसार आगामी फागुनमा नेपालमा प्रजनन विज्ञ पठाउने योजना छ । यो महत्वपूर्ण नतिजा एकल घटनाको रूपमा समाप्त नहुने सुनिश्चित गर्न हामी नेपालका लागि आधिकारिक विकास सहायता परियोजनाहरू विस्तार गर्न जारी राख्ने योजना पनि बनाएका छौं ।
कोरियाले सन् १९५० को दशकमा कोरियाली युद्धपछि विश्वभरका देशहरूबाट ओडीए लगायत अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्यो । कोरिया विश्वको एक मात्र यस्तो राष्ट्र हो जसले आफूलाई सहायता प्राप्तकर्ता बाट दाता देशमा परिणत गरेको छ ।
हामी अन्य देशहरूसँग उल्लेखनीय विकासको बारेमा हाम्रो अनुभव र ज्ञान साट्न अन्तर्राष्ट्रिय समुदायसँग बलियो एकता निर्माण गर्न खोजिरहेका छौं । कोरिया र नेपालले लामो समयदेखिको विश्वास र मित्रतामा आधारित पारस्परिक र सहयोगी सम्बन्धलाई निरन्तरता दिँदै आएका छन् । म नेपालका जनताको समर्थनको लागि आह्वान गर्न चाहन्छु ताकि दुवै देशले मिलेर काम गरेर थप फलदायी नतिजाहरू सिर्जना गर्न सकून् ।
कोरियाली युद्धले ध्वस्त भएको दक्षिण कोरियाको उल्लेखनीय आर्थिक वृद्धिमा अन्तर्राष्ट्रिय समुदायबाट आएको सहयोगले प्रेरणादायी शक्तिको रूपमा काम गरेकोले नेपालका सबै जनताले प्रचुर मात्रामा उपभोग गर्न सकून् भनेर १०१ कोरियाली उन्नत जातका गाईले नेपालमा चमत्कार ल्याउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।