
हुम्ला— घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् ।
हुम्लाको सर्केगाड गाउँपालिका- ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घर भन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।
फडेरा गत शुक्रबारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । आफन्तले उनीलाई सोमबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले भने, ‘घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन। घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ।’
मुचुल्कापछि बाजुराको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने डीएसपी खनालले बताए । रासस













