News Griha :: न्यूजगृह
जंगली हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा ३ जनाको मृत्यु

काठमाडौं— एक साताको अवधिमा जंगली हात्तीको आक्रमणबाट कोशी प्रदेशका तीन जिल्लामा तीन जनाको मृत्यु भएको छ। मोरङ, झापा र सुनसरीमा जंगली हात्तीको आक्रमणमा परेर तीन जनाको मृत्यु भएको हो ।

मोरङको बेलबारीमा जंगली हात्तीले आक्रमण गर्दा सोमबार लेटाङ-३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए । साइकलमा गन्तव्य तर्फ जाँदै गरेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेस्थित सिर्जना सामुदायिक वन क्षेत्रमा सोमबार बिहान हात्तीले आक्रमण गरेको थियो । 

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि गएको शुक्रबार झापाको हल्दीबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । हल्दीबारी गाउँपालिका-३ मा रहेको रणकाली सामुदायिक वनका चौकीदार (वन हेरालु) ४० वर्षीय धनबहादुर वनको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 

यसअघि सुनसरीको इटहरीमा पनि जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको थियो । इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्वा चोकमा गएको बुधबार राति हात्तीले आक्रमण गर्दा स्थानीय २५ वर्षीय रविन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

नजिकैको बजारबाट घर फर्किदै गरेका खड्काको पनि जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पछिल्लो समय कोशी र मधेश प्रदेशमा पर्ने तराईका जिल्लाका जंगली हात्तीको आतंक बढेको स्थानीयले बताएका छन् । हात्तीले बालीनाली खाइदिँदा किसान पनि चिन्तित छन् । उनीहरूले जंगली हात्ती नियन्त्रणको लागि सरकारसँग माग गर्दै आएका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०६:४६
Weather Update