News Griha :: न्यूजगृह
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ— सोमबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । 

बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए । 

आइतबार साँझदेखि वर्षा भए पनि सोमबार बिहानदेखि नै हिमपात भएको घर्तीमगरले जानकारी दिए । हिमपात भएपछि पूर्वी रुकुमदेखि पोखरा काठमाडौं चल्ने सवारी साधन बिहानसम्म हिउँ पन्छाएर यात्रा गरे पनि अहिले पूर्ण रुपमा बन्द भएको उनले बताए । 

चरनका लागि पातिहाल्ने लगिएका बस्तुभाउ पनि बेँसी झारिएको उनको भनाइ छ । ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्ये बनेको छ । बिहानदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । 

ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले जानकारी दिए । लामो समयपछि वर्षासँगै हिमपात हुँदा किसान भने हर्षित भएका छन् । खेतबारीमा लगाको गहुँ, जौ र तोरी सुक्न थालेपछि चिन्तित बनेका किसानलाई यो बेलाको वर्षाले राहत दिएको भण्डारीको भनाइ छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १७:३४
Weather Update