![काठमाडौं अदालतले जारी गर्यो विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी](https://newsgriha.com/uploads/posts/Netra-Bikram-Chand-Biplop-1700314693.jpg)
काठमाडौं— जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चारजना नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।
त्यस्तै राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । २०७६ असोज ९ मा दायर भएको मुद्दामा उनीहरूमाथि संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीच सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ ।
अभियोगपत्रमा माइला लामासहित दिपेश राई, खड्गबहादुर विश्वकर्मा, हेमन्त प्रकाश ओली, उदयबहादुर चलाउने, चन्द्रबहादुर खड्का, राजु कार्की, नेत्रविक्रम चन्द, नवीन विष्ट र केदार खतिवडालाई विपक्षी बनाइएको थियो ।
सोही दिन हरिबहादुर खड्का, नेत्रविक्रम चन्द, माइला लामा, माइला लामा, सुरेन्द्र महर्जनविरुद्ध राजद्रोहको अर्को मुद्दा पनि दर्ता भएको थियो । उनीहरूमाथि सङ्गठित आपराधिक समूहमा आवद्ध भई विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको आरोप छ ।
उनीहरु फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि इजलासले नै उनीहरूलाई उपस्थित गराउनु भनी ३५ दिने वारेन्ट जारी गर्न आदेश दिएको थियो । मंसिर १० मा इजलासबाट भएको आदेश अनुसार जिल्ला अदालत प्रशासनले गोरखापत्रमा सूचना निकालेको हो ।
हेर्नुहोस् पक्राउ पुर्जी