News Griha :: न्यूजगृह
वीरगञ्ज भन्सारबाट सुकमेल चोरी,  ग्वाटेमालाबाट आएको थियो चोरी भएको ११ कार्टुन सुकमेल 

पर्सा—  वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी भएको छ । काठमाडौंस्थित पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनरमध्ये दुई वटा कन्टेनरको सिल टुटाएर ११ कार्टुन सुकमेल चोरी भएको हो ।  

गत अक्टोबर १९ तारिखमा दुबई हुँदै विशाखापटनम् बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठ वटा कन्टेनरमा खरिद गरी ल्याइएको दुई सय कार्टुन सुकमेलमध्ये कन्टेनर नम्बर ईएससीयू २००२२०६ र ईएससीयू २००२२४८ को सिल हटाएर ११ कार्टुन सुकमेल चोरी भएको आयातकर्ता कम्पनीका वीरगञ्जस्थित प्रतिनिधि मधु बरालले जानकारी दिए ।

उनका अनुसार चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो। चोरी भएको सुकमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रहेको उनको भनाइ थियो । सुख्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका कामदारकै मिलोमतोमा सुकमेल चोरी भएकाले छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको प्रतिनिधि बरालले जानकारी गराए ।

सुकमेल जाँचपास गर्न २० प्रतिशत भन्सार महसुल, दस प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ४३ प्रतिशत अर्थात् ८० लाख राजस्व तिर्नुपर्नेमा आयातकर्तासँग रकम अभाव भएपछि विगत दुई महिनादेखि जाँचपासका लागि सो कन्टेनर सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा अडकिएको थियो । 

कार्यालय प्रमुख रामप्रसाद मैनालीले कन्टेनरको उक्त घटनाबारे अनुसन्धान भइरहेको र पछि थप विवरण उपलब्ध गराउने बताए । रासस

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:५८
Weather Update