News Griha :: न्यूजगृह
प्रतिकुल मौसमका कारण भूकम्पपीडितलाई झनै सास्ती
फाइल तस्बिर ।

रुकुम पश्चिम— एक महिनाअघि जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका प्रभावितहरूलाई प्रतिकुल मौसमका कारण मुस्किल परेको छ ।

सोमबार बिहानैदेखि लगातार परिरहेको सिमसिम पानीका कारण त्रिपालमुनि दैनिकी गुजारी रहेकाहरूलाई जाडोले सास्ती भएको हो । अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको रकम प्राप्त गर्ने प्रक्रिया सुरु भइसकेको भएपनि अधिकांश पीडितहरू अहिले पनि त्रिपाल मुनी बसिरहेका छन् ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १, चाइनाबगरकी आइती पुनले पानी पर्दा निकै गाह्रो भएको बताइन् । ‘पानी पनि मुस्किलले तर्कने त्रिपाल भित्र छौं । न आगो बाल्न मिल्छ, न न्यानो गरी बस्न,’ उनले भनिन्, ‘हामी त जसोतसो बाँचौँला ससाना लालाबाला छन् । यिनलाई कसरी बचाउने होला ।’  

त्रिपालमै बस्दै आएका आठविसकोट नगरपालिका– १३ का कर्णबहादुर पुनले पनि ज्येष्ठ नागरिक, दीर्घरोगी र महिला तथा बालबालिकालाई चिसोले धेरै असर गरेको बताए । ‘पानीबाटै ओत लाग्न मुस्किल परिरहेको छ । अहिले भएका लत्ताकपडाले मात्रै पनि यो चिसो छल्न गाह्रो छ,’ उनी भन्छन्, ‘मौसम पनि बैरी भयो । भूकम्पबाट जसोतसो बाँचेका हामी चिसोले पो मर्छौँ कि जस्तो लाग्न थाल्यो ।’ 

त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडाकी सुशीला खत्रीले हिमपात सुरु हुने जस्तो अवस्था सिर्जना भएको बताइन् । ‘चिसो त बढेको छ नै सँगसँगै यहाँ त हिउँ नै पो पर्छ जस्तो छ । दिन कटाउनै मुस्किल भयो,’ उनले भनिन् । 

चिसोकै कारण अहिलेसम्म जाजरकोटमा २२ जना र रुकुम पश्चिममा ८ जनाको ज्यान गइसकेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १४:०१
Weather Update