
काठमाडौं— नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्दैछ ।
पार्टी कार्यालय आलोकनगरमा बैठक बिहान ११ बजे बोलाइएको प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीको महाधिवेशन सार्ने लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको उनले जानकारी दिए ।
‘उल्लेखनीय कार्यसूची त केही छैन। महाधिवेशनको मिति सार्नेबारे छलफल भइरहेको छ। त्यसबारे आज छलफल हुन्छ,’ उनले भने।
एकीकृत समाजवादीको भदौ ५, ६ र ७ गते ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
काठमाडौंमा गर्ने भनिएको पहिलो महाधिवेशन राष्ट्रिय सभाको निर्वाचनको कारण धकेलिने सम्भावना देखिएको छ । सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ। फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ । एक महिनाअगावै निर्वाचन गर्नुपर्ने व्यवस्थाअन्तर्गत माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो । त्यसका लागि पुस २३ गते नै उम्मेदवारी दर्ता गर्नुपर्ने गरी निर्वाचन आयोगले तालिका निकालिसकेको छ ।
त्यसमा लाग्नुपर्ने भएकाले महाधिवेशन सार्नुपर्ने परिस्थिति आएको प्रवक्ता खतिवडाले जानकारी दिए । यसपटक एमालेले जितेका ८ सांसदहरूको स्थान रिक्त हुँदैछ। त्यसमा सत्ता साझेदार दलहरूले भागबन्डा गरेर उम्मेदवारी दिने तयारी गरेका छन् । आजको बैठकमा यसबारे पनि छलफल हुने छ ।
यसका अतिरिक्त पार्टीको आगामी कार्ययोजना र पछिल्लो समय व्यवस्था विरोधीहरू सलबलाउँदै गएकोलगायतका विषयमा पनि छलफल हुने प्रवक्ता खतिवडाले जानकारी दिए।