
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।
दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिएर आइतबार प्रधानमन्त्री दाहाल स्वदेश फर्किएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए ।
शनिबार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताएका थिए ।
उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए । सम्मेलनमा उनले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । प्रधानमन्त्री दाहाल गत मङ्सिर १३ गते सो सम्मेलनमा लिन दुबई प्रस्थान गरेका थिए ।