News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरण: तीन जनाले धरौटी बुझाएनन्, बुझाउने तीन जना पनि छुटेनन् 

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटी तथा साधारण तारेखमा छाड्न आदेश दिएका ७ जना प्रतिवादी आइतबार पनि छुटेनन् ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलले ७ जना प्रतिवादीहरूलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएको थियो। उक्त आदेश जारी भएपनि उनीहरू छुटेनन् । 

केन्द्रीय कारागार जगन्नाथदेवलका जेलर ललित बस्नेतका अनुसार धरौटी बुझाएर तीन जना र साधारण तारेखमा एक जना प्रतिवादी छुट्ने प्रक्रियामा छन् । प्रतिवादी हरिभक्त महर्जन, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी र आशिष बुढाथोकीलाई छाड्न उच्चले आदेश दिएको थियो ।

उच्चले हरिभक्तसँग १५ लाख, शमशेर र नरेन्द्रसँग १०/१० लाख रुपैयाँ धरौटी मागेको थियो । पुर्पक्षको लागि थुनामा रहेका आशिष बुढाथोकीलाई पनि साधारण तारेखमा राख्न उच्चले आदेश दिएको थियो । 

उनीहरूले उक्त धरौटी बुझाएर कारागारमा आउँदा ढिला भएकाले प्रक्रिया पुर्‍याउने काम नसकिएको जेलर बस्नेतले बताए । ‘जिल्ला अदालतबाट ४ बजेतिर मात्रै फाइल आयो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागमा पठाउँदा ढिला भयो,’ उनले भने, ‘आज ढिला भयो। भोलि उहाँहरू छुट्ने सम्भावना हुन्छ। विभागले के भन्छ त्यसअनुसार हुन्छ।’

उच्च अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग ३० लाख र रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

उनीहरूले धरौटी नबुझाएकाले प्रक्रियामा नगइसकेको जेलर बस्नेतले बताए । यस्तै जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि धरौटीमा छुटेका लक्ष्मी महर्जन, टंक गुरुङ र केशव तुलाधरलाई उच्च अदालतले साधारण तारेखमा राखेको थियो। जिल्लाले लक्ष्मीसँग ५ लाख, टंकसँग १० लाख र केशवसँग १५ लाख धरौटी मागेको थियो । 

जिल्लाको आदेश बदर गर्दै उनीहरू तीनै जनालाई पनि अदालतले साधारण तारेखमा राख्न आदेश दिएको हो । पूर्वगृहमन्त्री खाणको हकमा भने दुई न्यायाधीशहरूबीच मत बाझिँदा अर्को इलजासले निर्णय गर्ने भएको थियो । 

उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा खाणलाई छाड्न पर्ने राय दिएका थिए । तर न्यायाधीश प्रकाश खरेलले उनलाई पुर्पक्षको लागि थुनामै राख्नुपर्ने राय दिएपछि मत बाझिएको हो । अब यसको निर्णय एकल न्यायाधीशको इजलासले गर्ने प्रवक्ता भट्टराईले बताए । त्यसको पेसी यो साता तोकिनेछ । 

अदालतले नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामै राख्न आदेश दिएको थियो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो। यसमा सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएको थियो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:४३
Weather Update