News Griha :: न्यूजगृह
उमेर ढल्किएपछि चाहियो नागरिकता 

सिरहा— धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन लागेका छन् । नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उनलाई नागरिकताको आवश्यकता महसुस भएको हो । घर नजिकै नागरिकता शिविर सञ्चालन भएपछि नागरिकता बनाउन उनलाई सजिलो पनि भयो ।  

सोही ठाउँकी दश नातिनातिनाको हजुरआमा ५४ वर्षीय छलिमाया खपाङ्गेलाई पनि नागरिकता बनाउनुपर्ने रहेछ भन्ने लागेको छ । चार छोराछोरीको आमा छलिमायाका नाममा न कुनै चलअचल सम्पत्ति छ न बैंक तथा वित्तीय संस्थामा खाता नै । यसअघि उनलाई नागरिकता चाहिन्छ भन्ने कहिल्यै लागेन पनि । श्रीमान्को नागरिकताबाट सबै काम चलेकै थियो ।

‘मलाई त कसैले नागरिकता चाहिन्छ भनेर अहिलेसम्म भनेका पनि थिएनन् । यसअघि खासै नागरिकता आवश्यक पनि परेन । भत्ता खाने बेलामा त चाहिन्छ रे,’ नागरिकता शिविरमा कागजातसहितको प्रक्रिया पूरा गरेपछि छलिमायाले भनिन्, ‘के गर्नु हजुर, घर छाडेर कहीँ टाढा गएकी छैन अहिलेसम्म । जानुपर्ने काम पनि परेन । यहाँ पनि यी नै बाहुचाहिँ (श्रीमान्)ले कर गरेर आएको ।’

सरकारले गाउँमै आएर सेवा दिएकाले श्रीमती लिएर आएको छलिमायाका श्रीमान् दानबहादुर खपाङ्गेले बताए।  धनगढीमाई नगरपालिका– १४ को वडा कार्यालयमा शनिबार नागरिकता शिविर सञ्चालन भएको थियो । सोही शिविरमा आसमान र छलिमाया जस्तै प्रायः उमेर ढल्केका प्रौढ महिला उपस्थित भई सनाखतसहित आवश्यक कागजात मिलाउन व्यस्त थिए । उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त हुने भएपछि सामाजिक सुरक्षा भत्ताको आशमा केही हदसम्मको चमक उनीहरूमा थियो ।

पुस्तौँदेखि नेपालमै थाकथलो भएका धेरै नागरिक अनेक कारणले नागरिकताविहीन हुनुपरेका कारण सरकारले दिने सुविधाबाट वञ्चित छन् । त्यतिमात्र नभई नागरिकताकै कारण कतिपय अवसर र कामबाट समेत वञ्चित हुनुपरेको धनगढीमाई नगरपालिकाको उपप्रमुख सङ्गीताकुमारी चौधरी बताउँछिन्।

‘गाउँघरमा नागरिकताको महत्व नबुझ्दा पनि धेरैले नबनाउने गरेका छन् । यसमा अधिकांश महिला तथा मुख्यगरी दूरदराजका उमेर ढल्केका आमा र हजुरआमा छन्,’ उपप्रमुख चौधरीले भनिन्, ‘नागरिकता नहुँदा निम्न आर्थिक अवस्थाका नागरिक सरकारी सुविधाबाट वञ्चित छन् । सरकार नागरिक नजिकै छ भन्ने अनुभूति दिलाउन, वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई सहज होस् भनी यो नागरिकता शिविर सञ्चालन गरिएको हो ।’

राज्यसँग नागरिकको कानुनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने प्रमाणपत्र नागरिकता भएकाले नगरका नागरिक कोही पनि अनागरिक भएर सरकारी सेवा र सुविधाबाट वञ्चित हुन नदिन आफू लागिपरेको धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतोले जानकारी दिए ।

उनले भने, ‘राज्यले नागरिकलाई विभिन्न सेवासुविधा र अवसर उपलब्ध गराउनुपर्ने दायित्व निर्वाह गर्नुपर्ने हुन्छ र राज्यले समेत नागरिकबाट केही कर्तव्यको अपेक्षा राख्दछ । नागरिकताबिना हरेक व्यक्तिलाई आधिकारिक काममा समस्या पर्छ ।’ अशिक्षा, सूचनाको अभाव, सम्पत्तिमा हक नहुनेलगायत कारण नागरिकताबाट वञ्चित हुनेमा धेरैजसो महिला नै हुने गरेको अधिकारकर्मी देवराज पोखरेलको बुझाइ छ ।

दूरदराजका अधिकांश विवाहित महिला घरपरिवारसँग मिलिजुली बस्दासम्म नागरिकताको आवश्यकता महसुस नगर्ने र पतिपत्नीबीचको सम्बन्ध बिग्रेपछि वा घरपरिवारसँग सम्बन्ध नराम्रो हुँदै गएपछि नागरिकतालगायत अन्य कागजात नहुँदा दुःख पाउने गरेका अनुभव उनीसँग छ । जिल्लाकै विकट मानिने चुरेको फेदमा अवस्थित धनगढीमाई नगरपालिका– १२, १३ र १४ गरी तीन वटा वडालाई लक्षित गरी नागरिकता शिविर सञ्चालन गरिएको हो ।

शिविरमा जिल्ला प्रशासन कार्यालय सिरहा र इलाका प्रशासन कार्यालय लहानको संयुक्त कर्मचारीको टोली सम्मिलित छ । नागरिकताका लागि आवश्यक कागजात र सनाखतसहित तीनवटै वडाबाट शनिबार एक सय ४६ जनाले निवेदन दिएको इलाका प्रशासन कार्यालय लहानका प्रमुख लीलाकान्त पौडेलले जानकारी दिए । उनका अनुसार सङ्कलित कागजातका अनुसार प्रक्रिया पुर्‍याएर मङ्सिर मसान्तसम्म नागरिकता गाउँमै हस्तान्तरण गरिनेछ ।      

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:५९
Weather Update