News Griha :: न्यूजगृह
नक्कली शरणार्थी प्रकरणमा थुनामुक्त गर्न आदेश भएका १० जना आइतबार मात्रै छुट्ने

काठमाडौं—  नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये १० जनालाई छाड्ने आदेश भएपनि उनीहरु आइतबार छुट्ने छन् ।

उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार, उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्छ ।
‘उच्चबाट जिल्लामा पत्र पुगेपछि मात्र आदेश कार्यान्वयनमा जान्छ, शनिबार बिदा हुने भयो । त्यसैले आइतबार मात्र उहाँहरु छुट्नुहुन्छ’, भट्टराईले भने ।

अदालतले सन्दिप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख र नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । टंककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई भने साधारण तारेखमा छाड्न अदालतले भनेको छ ।

अदालतले टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै राख्ने आदेश सदर गरेको छ भने बालकृष्ण खाँणको हकमा न्यायाधीशको राय बाझिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १८:१०
Weather Update