सुर्खेत— कर्णाली प्रदेशका प्रहरीलाई ड्युटीको समयमा मोबाइल चलाउन रोक लगाइएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले प्रहरीबाट उच्च जिम्मेवारीका साथ कर्तव्य पालना होस् भन्ने हेतुले ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने व्यवस्था गरिएको जानकारी दिए ।
सुरक्षा जस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उनले बताए । ढकालले भने, ‘कर्तव्य पालनाको समयमा आम नागरिकलाई प्रभावकारी सुरक्षाको अनुभूति दिलाउन र जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी काम होस् भन्ने उद्देश्यले यो नियम ल्याइएको हो।’
उनका अनुसार टोली कमान्डरको हकमा यो नियम लागू हुने छैन । जिम्मेवारी क्षेत्रमा खटिएका कर्मचारीलाई कुनै समस्या वा काम भएमा कमान्डरको फोनमार्फत सहजीकरण गर्न यो व्यवस्था गरिएको डीआईजी ढकालले बताए । कर्तव्यपालनको सिलसिलामा मोबाइल नचलाउँदा आपराधिक गतिविधिको उच्च निगरानी गर्न सकिने, अपराध भएमा तत्काल अनुसन्धान हुने तथा सामाजिक सञ्जालको दुरुपयोग गर्नबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने उनको भनाइ छ ।
प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च बचत हुनुका साथै यसले नागरिकमा प्रहरीप्रतिको विश्वास बढ्ने आशा गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले जिम्मेवारी पूरा गर्ने समयमा मोबाइल नचलाउन र नबोक्नका लागि सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए । उनका अनुसार यसका लागि प्रभावकारी ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाइएको छ ।