
नेपालगञ्ज— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताएका छन् ।
बाँकेको नेपालगञ्जमा आइतबारदेखि सुरु भएको संघको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा संघमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा नहुने उल्लेख गरे ।
युवा संघजस्तो गतिशील, सिर्जनशील संस्था जात, क्षेत्र र भूगोलको आधारमा पक्ष विपक्ष र गुटबन्दी गरेको सुहाउँदैन’, अध्यक्ष ओलीले भने,‘सामाजिक सद्भाव, राष्ट्रिय एकतालाई आत्मसाथ गर्दै नयाँ जोश, उत्साह अठोट र खुल्ला मनका साथ अघि बढ्न जरुरी छ ।’
नेताले आशिर्वाद दिएर नेतृत्वमा पुग्ने कामले संगठन जुझारु नहुनेतर्फ इङ्गित गर्दै अध्यक्ष ओलीले आफू केन्द्रित नभई संगठन, युवा आन्दोलन र देशलाई केन्द्रमा राखेर अघि बढ्न युवालाई आग्रह गरे । सम्पूर्ण क्षेत्रमा पार्टीलाई सशक्तरूपमा प्रमुख हैसियत बनाउनुमा युवा संघको ठूलो भूमिका रहेको बताउँदै उनले राजनीतिलाई जनताको पक्षमा परिणाम निस्किने सन्दर्भमा युवा संघले योगदान पुर्याएको उल्लेख गरे ।
‘युवालाई संगठित गर्ने, सही बाटो देखाउने र असल मान्छे बनाउने काम युवा संघको हो । कार्यशैली र व्यवहार हेर्दा बित्तिकै युवा संघको कार्यकर्ता भन्ने चिनिन सक्ने हुनुपर्छ, परिचय देखाएर युवा संघको चिनारी दिन आवश्यक छैन,’ ओलीले भने ।













