News Griha :: न्यूजगृह
विप्लव र कर्णजीत नेतृत्वको पार्टीबीच एकता 

काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्‍लव’ नेतृत्वको नेकपा र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकताको घोषणा भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दुई पार्टीले एकताको घोषणा गरेका हुन् ।

दुई पार्टीबीच नेपालमा दलाल पूँजीवादी सत्ताको अन्त्य, वैज्ञानिक समाजवादी सत्ताको स्थापना र जनताको समृद्धि जीवन तथा स्वाधीन नेपाल राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्ने सहमति भएको छ ।

दुई पार्टीले क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा नेकपाका महासचिव विप्लवले संसद्को गोलचक्कर र संसद्मा हराउने कम्युनिस्ट आन्दोलनले नेपाली जनताको हित र मुलुकको स्वाधीनताको रक्षा गर्न नसक्ने बताए ।

उनले जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गर्न खोज्दैमा कम्युनिस्ट पार्टी  नडराउने बताए । विप्लवले २०६३–६४ पछि माओवादीले उठाएका विषयहरू निष्कर्षमा पुग्न नसकेका कारण नै माओवादीलाई कमजोर बनाउने कोसिस भइरहेको बताए ।

त्यस्तै नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकीले नेपालको राजनीतिक संकटलाई समाधान गर्नका लागि कम्युनिस्ट क्रान्तिकारीहरू एक हुनुपर्ने बताए ।  

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १८:११
Weather Update