
झापा— वैदेशिक रोजगारीका सिलसिलामा ओमन पुगेकी मेचीनगर नगरपालिका–१५ घर भएकी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ ।
गत असोज ३० गते स्काइ अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमनको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्याएको थियो । ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीन तले भवनमा पुर्याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबर्जस्ती लगाउने प्रयास गरेको थियो । पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले बताइन् ।
कम्पनीका सञ्चालकले मुख थुनेर शारीरिक यातना समेत दिने गरेको उनले बताइन् । सञ्जिताले यो खबर नेपालस्थित आफ्नो परिवारसम्म पुर्याएपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमनस्थित नेपाली दूतावासले उनको उद्धार गरेको हो । सञ्जिताले ओमनमा सकसपूर्ण ४० दिन बिताइन् । उद्धारपछि मङ्सिर ११ गते उनी घर आइपुगेकी छन् । घर आइपुगेपछि उनले ओमनको कालकोठरीबाट बाँचेर आएको बताइन् ।
‘ओमनमा मलाई चार तले भवनको अँध्यारो कोठामा एक्लै राखेर पर्यटकलाई नुहाइदिने काम गर्न जबर्जस्ती गरे,’ उनले भनिन्, ‘ब्युटीपार्लरको काम दिने भनेर ल्याएको हो, यस्तो काम गर्दिन भनेर मैले ठाडै अस्वीकार गरेँ । त्यसपछि मलाई उनीहरूले बन्धक बनाएर तनाव दिए ।’ उनले नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्दा रोजगारदाता कम्पनीका सञ्चालकले दुई लाख ५० हजार माग गरेको बताइन् ।













