
काठमाडौं— नेकपा एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सङ्कल्प यात्रा सुरु भएको छ ।
अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झन्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेका हुन् । पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलसहितका सबै पदाधिकारी र केन्द्रीय स्तरका अन्य नेताहरू बुधबार साँझ नै सदरमुकाम गोठलापानी पुगेका थिए।
नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्ण प्रसाद जैशीका अनुसार झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा मध्य पहाडी लोक मार्गमा तीन सातासम्म चल्नेछ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर यात्रा समापन हुने सुदूरपश्चिम अध्यक्ष जैशीले जानकारी दिए ।
यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धि बारे बहस गरिने भएको छ ।
तस्बिर : केपी शर्मा ओलीको फेसबुकबाट ।