
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने प्रतिवद्धतासहित वैचारिक कार्यदिशा तय गरेको छ ।
महोत्तरीको जलेश्वरमा बुधबार सम्पन्न संयुक्त बैठकमा रास्वपाको औपचारिक राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ सहितको प्रस्तावना पारित गरेको हो ।
'राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नति प्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,' रास्वपाले पारित गरेको प्रस्तावनामा भनिएको छ, 'यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूति पूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।'
रास्वपाले शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गरेको छ । सबै प्रकारका संरचनात्मक विभेदविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने प्रतिवेदनमा उल्लेख छ ।