
काठमाडौं— सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगको सिफारिस अनुसार बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको प्रवक्ता रेखा शर्माले बताइन् ।
सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् । २०७४ सालमा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छ वर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसदको कार्यकाल सकिँदै छ ।
नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, नेकपा माओवादी केन्द्रबाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाइँ र सिङबहादुर विश्वकर्मा, स्वतन्त्र डा खिमलाल देवकोटा तथा र मनोनित डा. विमला पौड्यालको कार्यकाल सकिन लागेको हो ।