News Griha :: न्यूजगृह
सभापति निवासमा कांग्रेसका पूर्व र वर्तमान पदाधिकारीको बैठक बस्दै

काठमाडौं— नेपाली कांग्रेसले ताजा राजनीतिक परिस्थितिका बारेमा सङ्गठनभित्र छलफल सुरु गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले चितवनको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि निकटस्थ नेताहरूसँग परामर्श गरेका थिए । त्यसपछि पार्टीका पदाधिकारी पूर्व पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । 

बुधबार दिउँसो १ बजे आफ्नै निवासमा बस्ने बैठकमा सभापति देउवाले वर्तमान र पूर्व पदाधिकारीहरूसँग राष्ट्रिय राजनीतिको ताजा अवस्थाका बारेमा छलफल गर्नेभएका हुन् । गणतन्त्रको विकल्प खोज्दै विरोध प्रदर्शन भएका सन्दर्भमा सभापति देउवाले गणतन्त्रको विकल्प नरहेको बताउँदै राजसंस्था पुनर्स्थापनाको सम्भावना छैन भनेर चितवनमा भनिसकेका छन् ।

नेपाली कांग्रेसको नियमित महासमिति बैठक पटक पटक सर्दै आएकोमा पार्टीभित्र आलोचना खेपिरहेका सभापति देउवाले आगामी पुसमा महासमिति बैठक बोलाएका छन् । महासमिति बैठक आगामी पुस १६ देखि १९ सम्म काठमाडौंमा हुने भएको छ ।

बुधबार बस्ने पदाधिकारी बैठकमा यसबारेमा वृहत छलफल हुने भएको छ । महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०९:५७
Weather Update