News Griha :: न्यूजगृह
रुस—युक्रेन युद्धमा मारिने नेपाली चार पुगे

काठमाडौं— रुस—युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ४ पुगेको छ ।

मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए । 

दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो । थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।

थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पठाइएका थिए । त्यसको एक महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए । रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो ।

rush-ukreen-1-1701226610.jpg

परराष्ट्रले भने रुस–युक्रेनमा मारिएका नेपालीको अहिलेसम्म विवरण सार्वजनिक गरेको छैन । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले पनि विस्तृत विवरण आउन बाँकी नै रहेको बताए । त्यसैगरी युक्रेनी सेनाको नियन्त्रणमा रहेका बर्दियाका २३ वर्षीय विवेक खत्रीको पनि रिहाइ भएको छैन । रुसको ‘एयरबोर्न फोर्स’ बाट युक्रेन पुगेका खत्रीलाई युक्रेनी सेनाले पक्राउ गरेको खबर परिवारले गत असोज २७ मा पाएको थियो ।

युक्रेन मामिला हेर्ने जर्मनीस्थित नेपाली दूतावासले खत्रीको रिहाइका लागि युक्रेनलाई अनुरोध गरिएको जनाएको छ । खत्री २०७९ कात्तिक ६ मा शैक्षिक परामर्शदाता ‘एनईओ नेपाल’ मार्फत मस्कोस्थित कलेज अफ टेक्नोलोजी एन्ड फाइनान्समा अध्ययनका लागि पुगेका थिए ।

२०७८ फागुन १२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युद्ध अझै पनि जारी छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । उसले ६ महिनाअघि मात्रै सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।a

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०८:४०
Weather Update