
काठमाडौं— अछामको बान्नीगढी जयगढ गाउँपालिका– १ मा लाग्ने डौठेगडाको मेलाको छुट्टै विशेषता छ । ऐतिहासिक मेलाका लागि मेलाका लागि गाउँपालिकाले सार्वजनिक बिदा नै दिएको थियो । कार्तिक शुक्ल पूर्णिमाका दिन बान्नीगढी जयगढ– १ गाज्रामा लाग्ने यो मेलालाई ऐतिहासिक मानिन्छ । मेलामा राँगा र बोकालाई दौडाउँदै बली दिइएको छ ।
बान्नीगढी जयगढ– १ का वडाध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार नेपाल एकीकरणसँग जोडिएको इतिहास रहेको डौठेगडा मेला भर्न सयौँको सङ्ख्यामा श्रद्धालु भेला हुने गरेका छन् । ‘यो पल्ट दुई सय जति बोका र राँगा दली दिइयो,’ उनले भने, ‘यो मेला ऐतिहासिक मात्रै होइन धार्मिक विश्वाससँग जोडिएको भएकाले धेरैको सहभागिता हुने गरेको छ ।’
यो मेला १८४९ सालदेखि मनाइँदै आएको मानिन्छ । सयौँ राँगा र बोकाको बली दिएर यहाँ बर्दादेवी माताको पूजा गरिन्छ । गरेको भाकल वा मनोकाङ्क्षा पुरा भयो भने बली चढाउने परम्परा छ । नेपाल एकीकरणका बेला बाइसे चौबीसै राज्य थिए । सिकिन्दर खड्काको पालादेखि नै डौठेगडामा मेला सुरुवात भएको मानिन्छ ।
इतिहासअनुसार नेपाल एकीकरणका लागि पुगेका सेना र अछामी राजाका सेनाबीच लडाइ भएको थियो । पहिलो आक्रमणमा नेपाल राज्यका सेनाले जित्न सकेनन् । राजाले ‘गाउँका मुखियाको टाउको काट्नू’ भन्ने आदेश दिएपछि अछामका गाउँगाउँमा रहेका मुखियाहरूलाई नियन्त्रणमा दिइएको थियो । गाज्राका मुखिया सिकिन्दर खड्काले नेपाल राज्यका घाइते सेना नाइकेलाई उपचार सेवा दिएका थिए । ती नाइके सिकिन्दरका मित थिए । उनलाई पनि मार्ने आदेश आएपछि नाइकेले अछाम र दैलेखको सीमा कर्णाली नदीको किनार बेलखेतमा पुर्याए र मीत भएकाले ‘मार्न सक्दिनँ । इष्टदेवी स्मरण गरेर भाग्न’ भने ।
सिकिन्दरले वरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फाले । सकुशल नदी तरे । पौडी खेल्न नजान्ने खड्काले आफू तरेर पारी जान सके डौठेगडामा दौडाउँदै राँगाको बली चढाउने भाकल गरेका थिए। सहजै नदी पार गरेपछि गाउँमा फर्किएर उनले डौठेगडामा दौडाउँदै राँगाको बली दिए । मेला यही किंवदन्तीमा आधारित रहेको जनविश्वास छ । यहाँ अछामसँगै बाजुरा, डोटी, कैलाली लगायत विभिन्न जिल्लाबाट मेला भर्न हजारौँ भेला हुने गरेका छन् ।