
काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा सोमबार गौशाला क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका धर्मगुरु बताउने आचार्य श्रीनिवासलाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा चलाएको छ ।
त्रिशूल बोकेर प्रदर्शनमा उत्रेका श्रीनिवासले भेलालाई सम्बोधन पनि गरेका थिए । सोमबार प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरुद्ध गर्नुका साथै ढुंगामुढा गरेको भन्दै प्रहरीले बल प्रयोग गरी प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा सहित १५ जनालाई पक्राउ गरेको थियो ।
थापालाई अभद्र व्यवहारको मुद्दा चलाइएको काठमाडौं परिसर प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । पक्राउ परेका १५ जनामध्ये श्रीनिवास र थापा सहित ८ जनालाई मंगलबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीन दिन म्याद थपेर हिरासतमा राख्न अनुमति दिएको छ ।
सार्वजनिक शान्ति विरुद्ध र अभद्र व्यवहारको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने प्रावधान छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २ अन्तर्गत दफा ६० को उपदफा ३ मा सार्वजनिक शान्ति विरुद्धको कसूरमा ६ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
उक्त कसूरमा हतियार सहित उत्रेर शान्ति सुव्यवस्थामा खलल पुर्याए मा एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै दण्ड हुने उल्लेख छ । प्रसाईँ पक्षधर समूहले मंसिर ७ गतेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् ।













