News Griha :: न्यूजगृह
उर्लाबारी आगलागी घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

काठमाडौं— मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

कात्तिक २६ गते लक्ष्मीपूजाको दिन उर्लाबारी नगरपालिका– ७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । प्रहरीका अनुसार सोमबार राति उर्लाबारी नगरपालिका–७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा मृत्यु भएको हो । काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

यसअघि उर्लाबारी– ७ का ४९ वर्षीय हेमकुमार दाहाल (दीपक), ४२ वर्षीय कुमार तामाङ, ४३ वर्षीय तपन पण्डित र ६८ वर्षीय रुकुमबहादुर कार्कीको मृत्यु भएको थियो । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १०:४४
Weather Update