News Griha :: न्यूजगृह
कांग्रेस कैलालीले जिल्ला सम्मेलनका लागि खटायो प्रतिनिधि

धनगढी— नेपाली कांग्रेस कैलालीले वडा तथा जिल्ला सम्मेलनका लागि प्रतिनिधि खटाएको छ ।

महोन्याल गाउँपालिका वडा नम्बर ३ को फलेबिसौनामा बसेको १०औं बैठकको निर्णय अनुसार निर्वाचन क्षेत्र तथा वडा सम्मेलन भव्यताका साथ सम्पन्न गराउन प्रतिनिधि खटाएको हो ।

जिल्लाको १०औं बैठकले वैशाख ५ गते वडा सम्मेलनको प्रारम्भ गरी जेठ ५ गते मध्यवर्ती क्षेत्र कैलारी गाउँपालिकाको हसुलियामा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको थियो ।

सोही बमोजिम प्रतिनिधि सभा निर्वाचन क्षेत्रदेखि वडातहसम्म प्रतिनिधि खटाएको पार्टीका प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुसालले जानकारी दिए ।

पाँच वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कैलालीको १ मा जिल्लाकी कोषाध्यक्ष देवकी कार्की, क्षेत्र नम्बर २ मा उपसभापति भीम बडुवाल, क्षेत्र नम्बर ३ मा खेमराज डंगौरा थारु, क्षेत्र नम्बर ४ मा सचिव केशवराज मिश्र र क्षेत्र नम्बर ५ मा नृप सुनारलाई खटाएको उनले जानकारी दिए ।

यस्तै, १० वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटा स्थानीय तहमा महासमिति सदस्यलाई खटाएको छ भने वडाहरुमा जिल्ला सदस्यलाई खटाइएको उनले बताए ।

नेपाली कांग्रेस कैलालीले वैशाख ५ देखि १० गतेसम्म वडा सम्मेलन, वैशाख १२ देखि १५ सम्म पालिकास्तरीय सम्मेलन, १७ देखि २० सम्म प्रदेश क्षेत्रस्तरीय सम्मेलन, २२ देखि २२ सम्म संघीय क्षेत्रस्तरीय सम्मेलन सम्पन्न गर्ने र जेठ ५ गते जिल्ला सम्मेलन गर्ने कार्यतालिका तय गरेको थियो ।

जिल्ला सम्मेलन तयारीका लागि पार्टी उपसभापति खेमराज डगौरा थारुको संयोजकत्वमा अन्य जिल्ला पदाधिकारी, जिल्ला सदस्यहरू रहने री मूल तयारी समिति गठन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १९:०४
Weather Update