News Griha :: न्यूजगृह
१४ केजी गाँजासहित ३ जना पक्राउ

काठमाडौं— बझाङमा १४ केजी गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खप्तड छान्ना गाउँपालिका- ७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खड्कासहित गोरखाको अजिरकोट गाउँपालिका-२ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका-३ का ५५ वर्षीय राम गुरुङ छन् ।

बझाङ प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहका अनुसार उनीहरूले खड्काको घरमा उद्योग नै खोलेर अवैध रुपमा गाँजाको कारोबार गर्दै आएको खुलेको छ ।

उनीहरूको साथबाट १४ किलो २१० ग्राम गाँजा, गाँजाको दाना र पातसमेत गरेर ७७ किलो ३०५ ग्राम कच्चा पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका ५ वटा बाटा, डिजिटल तराजु, कैँची, ब्लेड, कार्टुन टेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लास्टिकसमेत बरामद गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०६:४९
Weather Update