प्रहरीको क्यान्टिनमै मिनरल वाटरको बोतलमा कीरा भेटियो, उत्पादक कम्पनीलाई एक लाख जरिवाना
काठमाडौं— प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनरल वाटरको बोतलमा कीरा भेटिएको छ ।
कीरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी बेभरेज प्रालिलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ । क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार कम्पनीविरुद्ध महानगरमा उजुरी दिएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका–६ को ठेगाना रहेको एएण्डबी बेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
यस्तै पानी बोतलमा भर्नु अगाडि बोतल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८० १७:०४