News Griha :: न्यूजगृह
रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी जिल्लाको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सडक कालोपत्र निर्माणमा वास्तविक भएको कार्यभन्दा बढी नापी किताबमा चढाइ भुक्तानी गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा अनियमितता भएको पाइएको हो । आयोगले रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सनिकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी, सबइन्जिनियर हर्षलाल चौधरीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार उनीहरूविरुद्ध दुई लाख १२ हजार ७३ बराबरको बिगो दाबी गरिएको छ ।   

दाहालका अनुसार रामधुनी नगरपालिका–३ का वडाध्यक्ष राजकुमार चौधरी, वडा सदस्य टीकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक पाँचौँ सुनिलकुमार चौधरीविरुद्ध पनि समान बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ ।  साथै जाल्पा सिद्ध निर्माण सेवा पकली सुनसरीमा प्रोपाइटर नानुकुमारी निरौलाविरुद्ध पनि दुई लाख १२ हजार ७३ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:३७
Weather Update