News Griha :: न्यूजगृह
रास्वपाका सांसद झाकाे चुनाैती– मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको प्रमाणित गर्नुस् 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाइप्रति विश्वास गर्न नसकिने बताएका छन् ।

पार्टीका सभापति रवि लामिछानेले करोडौं रुपैयाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भइरहेका बेला सांसद झाले सो भनाइलाई आफूले विश्वास गर्न नसक्ने बताएका हुन् ।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी सभापति लामिछानेले मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेको देखाउन चुनौती दिए ।

नेपाली कांग्रेसमा आबद्धहरूले ट्वीटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउनका लागि ८ करोड लिएको भनेर लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गरेको देखाउनुपर्ने बताए ।

‘मैले त्यो साढे २ करोड रुपैयाँ नेतृत्वले मागेको थियो भन्ने कुरामा विश्वास गर्दिनँ । त्यसको कसैले प्रश्न उठाउँदैछ । मैले पनि ट्वीरमा केही कांग्रेसीजनले लेखेको ‘८ करोड रुपैयाँ शिक्षामन्त्री बन्नलाई माग्यो’ भन्ने देखें । त्यसमा म विश्वास गर्दिनँ । प्रमाण ल्याउन चुनाैती दिन्छु ।’

उनले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि साढे २ करोड मागेको भन्ने कुरा पनि सत्य नभएको जिकिर गरे ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:४६
Weather Update