News Griha :: न्यूजगृह
चितवन पुगेर बोले देउवा, भने— गणतन्त्रको विकल्प छैन

चितवन— नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’  

उनले गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताए । गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? यो प्रश्नमा उनले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।’ 

वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरूले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिएनन् । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उनको जवाफ थियो, ‘थाहा पाइहाल्नु हुन्छ नी ।’ 

त्यस्तै, कांग्रेस नेता डा. शशाङ्क कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । उनले भने, ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसद्ले चाह्यो भने जे पनि हुनसक्छ ।’ सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:४२
Weather Update