News Griha :: न्यूजगृह
कोरोनाबाट पहिलो मृत्यु भएकी चालिसेका छोरालाई स्वास्थ्यमन्त्रीले पढाइदिने

काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेका छोरालाई निःशुल्क पढाइदिने भएका छन् ।

कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिन लागेका हुन् ।

२०७७ साल जेठमा चालिसेको मृत्यु हुँदा चालिसेका छोरा सफल ९ दिनका मात्र थिए । मन्त्री बस्नेतले सोमबार सफललाई काठमाडौंको टोखा नगरपालिका ९ गोङ्गबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन् । उनले चालिसेका छोरा सफलको पठनपाठनको खर्चस्वरूप ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।

सञ्चारकर्मीसँग मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने बताए । उनले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिन्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क बाँडेको समेत स्मरण गरे ।
विद्यालयका प्राचार्य अधिकारीले कोरोनाबाट ज्यान गुमाएका परिवारको शिक्षा क्षेत्रमा सहयोग गरेको भन्दै मन्त्री बस्नेतलाई धन्यवाद दिए ।  प्राचार्य अधिकारीले मृतक चालिसेको जेठो छोरासमेत पठनपाठनमा विद्यालयले सहयोग गरेको उल्लेख गरे ।  


 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १२:२७
Weather Update