News Griha :: न्यूजगृह
आईएनजीओको सहयोगमा राष्ट्रिय सभा अध्यक्षसहित सातै प्रदेशका सभामुख–उपसभामुख अष्ट्रेलिया उडे 

काठमाडौं— राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया गएका छन् । वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल गएराति अष्ट्रेलिया उडेको हो । 

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को संसद् सहयोग परियोजनाअन्तर्गत अध्ययन भ्रमण हुन लागेको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए। यूएनडीपी नेपाल र संघीय संसद् सचिवालयबीच समझदारी भई संघीय संसद् र प्रदेश सभाहरूमा संसद् सहयोग परियोजना सञ्चालित छ। 

प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्मा विभिन्न भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्नेछ ।

प्रतिनिधिमण्डलमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णालीका नन्दा गुरुङ, गण्डकीका कृष्णप्रसाद धिताल, कोशीका उपसभामुख सृजना दनुवार, मधेसका उपसभामुख बबिताकुमारी राउत ईश्वर, बागमतीका  उपसभामुख अप्सरा चापागाईं खत्री र लुम्बिनीका उपसभामुख मेनुका खाँड केसी छन्। 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०७:४१
Weather Update