News Griha :: न्यूजगृह
‘सर्भिस लेन’को ढाँचा परिवर्तन गर्न बुटवल उपमहानगरको आग्रह

रूपन्देही— बुटवल उपमहानगरपालिकाले यहाँस्थित चौराहाबाट गोलपार्कसम्मको सडकको ‘सर्भिस लेनको डिजाइन’ परिवर्तन गर्न सडक विभागलाई आग्रह गरेको छ ।

चौराहाबाट गोलपार्कसम्मको सडक डिजाइनमा स्थानीय व्यवसाय प्रवर्द्धन, पार्किङ, सडक व्यवसाय, हरियाली, खानेपानी र विद्युतीकरणसहितको सडक निर्माण गर्नुपर्ने जनाउँदै उपमहानगरपालिकाले विभागसँग सो आग्रह गरेको हो । 

बुटवल उपमहानगरपालिकामा आइतबार बसेको सरोकारवालासहितको बैठकले बुटवलको व्यस्त बजार र बस्ती क्षेत्र सडकको ‘सर्भिस लेन’लाई हरियाली, साना सवारी पार्किङ, साना व्यवसाय, व्यवस्थित खानेपानी र विद्युतीकरण गर्ने गरी निर्माण गर्न सडक विभागलाई आग्रह गर्ने निर्णय गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार बुटवलको मुख्य बजार क्षेत्रको सर्भिस लेनको बहुउपयोग गर्नका लागि सर्भिस लेनको डिजाइनलाई सडक विभागलाई पत्राचार गर्ने निणर्य गरिएको हो ।

उनले चौराहाबाट गोलपार्कसम्मको सर्भिस लेनको निर्माण बाँकी रहेकाले निर्माण सुरु हुनुअघि नै ढाँचामा हेरफेर गरी स्थानीय आवश्यकताअनुसारको बनाउनु पर्ने बताए । 

उनले सर्भिस लेनको बीच–बीचमा साना गाडी पार्किङको क्षेत्र, साना विश्रामस्थल, पिउने पानी, शौचालयसमेतलाई व्यवस्थित गर्ने गरी सडक विभागलाई प्रस्तावित डिजाइन पठाइएको समेत जानकारी दिए । बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय आवश्यकतालाई हेरेर ‘सर्भिस लेनको डिजाइन’मा परिवर्तन गर्नुपर्ने बताए ।

सडक डिभिजन बुटवलका प्रमुख विसुनदास लामाले सरोकारवालाको मागअनुसार सडक विभागमा अनुरोध गर्ने बैठकमा बताए । 

स्थानीय सरोकारवालाबीचको छलफलको निर्णयानुसार छिट्टै स्थानीय सरोकारवालाको भेला डाकेर सडकको ‘सर्भिस लेन’ परिवर्तनका लागि बृहत् छलफल गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।

यसैगरी नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत बुटवल–८ र १० को नाला निर्माणका बारेमा सरोकारवालाबीच छलफल गरी आवश्यकतानुसार सिफारिस गर्ने निर्णय गरेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०७:१२
Weather Update