News Griha :: न्यूजगृह
योगेश भट्टराई सवार गाडी तोडफोड

काठमाडौं— नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका- ४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् । 

आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई सवार गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले जानकारी दिए ।

ढुंगा लागेर भट्टराई सवार गाडीको अगाडिको सीसा फुटेको छ । ‘उहाँ कार्यक्रम सकेर फर्किसक्नुभएको थियो, डेढ किलोमिटर पर होटलमा बसेका पहिचान पक्षधरले डिस्टर्ब गरे, एक जनाले परबाट गाडीमा ढुंगा हान्दा गाडीको सीसा फुटेको छ’, उनले भने ।

भट्टराईलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो । ढुंगा हान्नेहरूको खोजी भइरहेको डीएसपी लिम्बूले बताए ।

आइतबार दिउँसो भट्टराईको घरअगाडि पनि पहिचान पक्षधरले प्रदर्शन गरेका थिए । प्रदेश १ पुन नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । सोही समूहले भट्टराईको गाडीमा ढुंगा प्रहार गरेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:२६
Weather Update