News Griha :: न्यूजगृह
सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटल खचाखच

तनहुँ— सूर्योदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएकाछन् । सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ ।

असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल सञ्चालक प्रेम रावतले बताए । आफूहरुसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको उनले बताए । ‘मानहुँकोटमा अहिले पर्यटकको चाप बढ्दा होटल पनि खचाखच भरिएको छ,’ रावतले भने, ‘पर्यटकीय याममा दुई/तीन दिन पहिले नै होटल बुक हुने गर्दा हामीलाई पनि राहत मिलेको छ ।’

manungkot-view-(1)-1698284499.jpg

पर्यटकको चाप बढेपछि मानहुँकोटमा १० वटा होटल सञ्चालनमा आइसकेका छन् । धेरै पर्यटक मानुहुँकोट आउन भन्ने उद्देश्यले आफूले समूहमा आउनेलाई लक्षित गरी एक रात बास, दुई छाक खाना, नास्ता र चियासहित प्रतिव्यक्ति एक हजार एक सय कायम गरेको अर्का होटल सञ्चालक पूर्ण श्रेष्ठले बताए । आफूले तीन वटा त्रिपालबाट मानहुँकोट आउने पर्यटकलाई सेवा दिएको मानहुँकोट अर्का होटलका सञ्चालक मिलन थापामगरले बताए । आफूले प्रतित्रिपालको शुल्क प्रतिरात एक हजार लिने गरेको उनले बताए । आफूहरूले दैनिक ५० जनासम्म राख्ने गरी होटल सञ्चालनमा ल्याएको अर्का होटल सञ्चालक सुनिल सुनामले बताए । होटलमा दैनिक दुई/तीन सय जनालाई सेवा दिइरहेको उनको भनाइ छ ।   

समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको मानहुँकोट तनहुँको दमौलीबाट करिब सात किलोमिटरको यात्रामा पुग्न सकिन्छ । जाडोको मौसममा अन्य दिन दुई/तीन सय जना र बिदाको दिन आठदेखि नौ सय जनासम्म मानहुँकोट पुग्ने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:०१
Weather Update