दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिन सर्वोच्चमा निवेदन

काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई बन्दी बनाइएको भन्दै दायर रिट फिर्ता लिन सर्वोच्चमा निवेदन परेको छ ।
दुर्गा प्रसाईँको तर्फबाट रिट निवेदन दिएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले फिर्ताका लागि निवेदन दिएका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेकाअनुसार वरिष्ठ अधिवक्ता भण्डारीले प्रसाईं अहिले बाहिर कार्यक्रममा गइसकेको र घरमा धरपकड नभएको भन्दै रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन दिएका थिए ।
रिट फिर्ताका लागि निवेदन दिएको भएपनि सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भइसकेको छ । सुनुवाइ सकिएको र औचित्य पनि सकिएकाले रिट खारेज हुने र निवेदकले नै फिर्ताका लागि निवेदन दिएकाले माग बमोजिम हुने गरी उक्त रिटमा आदेश हुनेछ ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८० १४:३२













