
काठमाडौं— भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क चल्ने द्रुत बस सेवा आजबाट पुनः सुचारू भएको छ ।
सञ्चालनमा आएको एक महिना नबित्दै बन्द भएको उक्त सेवामा केही फेरबदल गरेर आजबाट सञ्चालनमा ल्याइएको नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । गत असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालनमा ल्याइएपछि कार्यान्वयनमा समस्या आएपछि एक महिना नबित्दै सेवा बन्द भएको थियो ।
उनका अनुसार पहिले २५ वटा बसबाट सञ्चालन गरिएको यो सेवामा अहिले थप ११ वटा बस थपिएको छ । कुल ३६ वटा बस सञ्चालनमा आएसँगै अब प्रत्येक तीन/तीन मिनेटमा सूर्यविनायकबाट द्रुत सेवाका बसहरू छुट्ने छ । यसअघि पाँच/पाँच मिनेटको अन्तरमा बसहरू छुट्ने गर्थ्यो ।
यस्तै बस छुट्ने समय तालिकामा पनि परिवर्तन गरिएको छ । यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म चल्ने गरेकोमा अबदेखि साढे ८ बजेदेखि साढे १० बजेसम्म सेवा सञ्चालन हुने अध्यक्ष स्वाँर बताउँछन् । बेलुकी पनि साढे तीन बजेदेखि साढे पाँच बजेसम्म सेवा सञ्चालन गरिने उनले जनाए ।
अर्को भनेको मुख्य जक्सनहरूमा द्रूत बस सेवाका लागि ठाउँ छुट्याउने काम पनि यसपटक गरिने स्वाँर बताउँछन्। धेरै जाम हुने कोटेश्वर, बानेश्वर जस्ता मुख्य जक्सनहरूमा द्रूत बस सेवाका लागि तीस मिटर ठाउँ छुट्याइने उनले बताए ।













