
काठमाडौं— काठमाडौं केन्द्रित प्रदर्शनको अगुवाइ गरेर अहिले चर्चामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कुनै खास प्रकारको राजनीतिक व्यवस्था भन्दा पनि मुलुक भ्रष्टाचारी, तस्करी र गरिबीले आक्रान्त भएको बताएका छन् ।
सिफल चौरमा शनिबार आयोजित प्रदर्शनमा उनले भने, ‘कुनै पनि दल विशेषका भ्रातृ सङ्गठनलाई म गाली गर्दिन, कति गाली गर्नु नेपाली नागरिकलाई भुटानी बनाएर पठाइदिने देशमा ?।’
नेताहरूको चरित्र ठिक नभएको भन्दै उनले रोष प्रकट गरे । ‘राष्ट्रको झण्डा बोकेर दौरा सुरुवाल लगाएर राष्ट्रिय भेषमा हिँडेको मान्छेलाई पुलिसले लगेर थुन्छ यो देशमा,’ उनले भने, ‘आज हामीले छानेका नेताहरू तस्करसँग पार्टनरसिप गर्छन् । हिजो राजा हामीले खेदिऊँ तर राजा खेदेपछि राजा सम्झिने वातावरण दुर्गा प्रसाईँले बनाएको हो की प्रचण्ड, केपी, शेरबहादुरले बनाएको हो ?।’
दलहरूले राजनीतिक प्रणाली परिवर्तनपछि जनअपेक्षाअनुसार शासन चलाउन नसकेको उनले बताए । नेपालीलाई बलियो बनाउने काम दलहरूले गर्न नसकेको टिप्पणी उनले गरे ।
‘युवा संघ, नेविसंघ सबैलाई भन्न चाहन्छु यी पार्टी झण्डा छोड्दिनुस्, नेपालको झण्डामुनि आउनुस् गरिबी, भ्रष्टाचारी, तस्करविरुद्ध लडौं र मुलुक बचाउँ । आज यिनीहरु मर्ने हो भने नेपाली जनताले खसी काटेर खान्छन्,’ उनले भने, ‘नेपाल बलियो बनाउन नेपालको व्यापार, व्यवसाय र नेपाली बलियो हुनुपर्छ । यो प्रजातन्त्र, गणतन्त्रले हामीलाई नाङ्गो बनायो, यो व्यवस्था परिवर्तन नगरीकन कसैको अवस्था परिवर्तन हुनेवाला छैन ।’













