रसुवा अदालतमा ढुंगामुढा
काठमाडौं— जिल्ला अदालत रसुवामा आक्रमण भएको छ । शुक्रबार बेलुका अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले अदालतमा ढुंगामुढा गरेका हुन् ।
बेलुका सवा ६ बजेतिर अदालतको आदेश चित्त नबुझेको भन्दै पीडित पक्षले ढुंगामुढा गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । झडपमा ३ प्रहरी घाइते छन् ।
७०/८० जना भेला भएर अदालतमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । गत कात्तिक ८ गते काले भन्ने छिरिङ तामाङ भोटेकोशीमा हामफालेर बेपत्ता भएको घटनामा गोसाइकुण्ड गाउँपालिका- १ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ लगायतलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आदेशपछि अदालतमा भेला भएका पीडित र आफन्तले अदालतको गेटमा ढुंगामुढा सुरु गरेको प्रहरीको दाबी छ । स्थिति नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८० १५:४६