News Griha :: न्यूजगृह
दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले प्रदर्शन स्थल परिवर्तन गर्‍यो  

काठमाडौं— दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले आन्दोलनको कार्यक्रम स्थल परिवर्तन गरेको छ ।

प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शनिबार तीनकुनेमा गरिने प्रदर्शनको कार्यक्रम सिफल चौरमा सरेको जानकारी दिएका छन् ।

‘आज तीनकुनेमा गरिने भनि तय गरिएको कार्यक्रम विशेष प्राविधिक कारणले गर्दा सिफल चौरमा सोही समयमा हुने भएकोले सम्पूर्ण नागरिकलाई सिफल चौरमा उपस्थित हुनु अनुरोध गरिन्छ । जय देश जय नागरिक!,’ प्रसाईँले भनेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको थिएन । प्रसाईँले यसअघि बिहीबार बल्खुमा प्रदर्शन गर्दै शुक्रबारबाट तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।

प्रसाईँले तीनकुने क्षेत्रसहित निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने तयारी गरेपछि हिजो शुक्रबार दिनभर प्रहरीले उनलाई भक्तपुरस्थित घरभित्र मात्रै बस्न पाउने गरी निगरानीमा राखेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०८:४५
Weather Update