
काठमाडौं— हमासद्वारा बन्धक बनाइएका २४ जनालाई रिहा भएका छन् ।
राहत कार्यमा संलग्न संस्था रेडक्रसले उनीहरु रिहा भएको पुष्टि गरेको छ । रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी खुसी छौं । दुई पक्षहरूबीच तटस्थ भूमिका खेल्दै, हामीले यी बन्धकहरूलाई गाजाबाट निकालेर इजिप्टको रफाह सीमामा ल्यायौं।’
यसअघि इजरायली सञ्चारमाध्यमले हमासले बन्धक बनाएका १३ इजरायलीलाई रेडक्रसमार्फत हस्तान्तरण गरेको बताएका थिए ।
यसअघि हमासले थाइल्याण्डका केही बन्धकलाई रिहा गरेको थियो । टीभी च्यानल १२ का अनुसार सबै बन्धकहरूलाई रफाह क्रसिङ हुँदै इजिप्ट लगिएको छ । इजिप्टले इजरायली बन्धकहरू इजिप्ट पुगेको जानकारी दिएको छ ।
थाइल्याण्डका प्रधानमन्त्रीले १२ थाई नागरिकलाई रिहा गरेको खबर दिएका थिए । हमास र इजरायलबीच मध्यस्थता गर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले रिहा गरिएकामा १३ इजरायली नागरिक, १० थाई र फिलिपिन्सका एक नागरिक रहेको बताएका छन् । नेपाली नागरिक विपिन जोशी रिहा भएका छैनन् ।